उद्योग वाणिज्य संघ–चितवनले दियो घर भाडामा छुट, व्यवसायीलाई राहत

June 14, 2023 9:54 pm

चितवन : उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य संघ–चितवनकोे बुधवार बसेको नियमित १५ औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवन वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।

आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिनको लागि यस अगावै अपिल गरिसकेको छ । देशमा व्याप्त चरम आर्थिक मन्दीका कारण व्यापार–व्यवसायमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ ।

कोभिड–१९ र तत्पश्चात सिर्जित व्यावसायिक जटिलता, बैंक व्याज वृद्धिजस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैबाट सुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घरधनीहरुले कम्तिमा यो अवस्था सहज नहुँदासम्मको लागि घर भाडामा केही प्रतिशत छुट दिनुहुन तथा घर वहाल सम्झौता बमोजिम यस वर्ष घरवहाल बृद्धि गर्ने समय आएका घरधनीहरुले घरभाडा बृद्धि नगरी राहत प्रदान गर्नु उद्योग वाणिज्य संघ चितवनले अपिल गरेको छ ।

संघको माताहतमा रहेको व्यवसायिक भवनमा व्यवसाय गरिरहेको व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने वहाल रकम समेत छुट दिएको संघले जनाएको छ ।