इच्छाकामनामा पाठी वितरण

May 28, 2023 8:04 pm

इच्छाकामना, १४ जेठ । विपन्न समुदायको आर्यआर्जनमा सहयोग पुग्ने उद्देश्यले इच्छाकामना गाउँपालिका वडा नं. १ का ५० चेपाङ घरधुरीलाई पैंचो पाठी वितरण गरिएको छ । निष्ठा आधार नेपालले ग्लोबल केयर एलायन्सको सहयोगमा प्रतिघरधुरी एउटा बाख्राका दरले पैंचो पाठी वितरण गरेको हो । ५० वटा बाख्रासँगै दुईवाट बोको समेत हस्तान्तरण गरेको छ ।

स्थानीयहरुकै नेतृत्वमा बाख्रा व्यवस्थापन समितिनै बनाएर पैंचो बाख्रा वितरण गरेको हो । खोर अनुगमन, रेखदेख, र आवश्यकताका आधारमा थप सहयोगगरी समिति बनाएर पैंचो बाख्रा वितरण गरिएको हो । अहिले बाख्रा पाउनेहरुको बाख्राले पाठापाठी पाएपछि एउटा पाठा वा पाठी समितिलाई फिर्तागर्नुशर्तमा बाख्रा वितरण गरिएको हो । गाउँघरमा यसलाई पैंचो दिएको भन्ने मानिन्छ । समितिले प्राप्तगर्ने उक्त बाख्राको पाठा वा पाठीलाई पुनः अर्को विपन्न परिवारलाई हस्तान्तरणगर्नेगरी पैंचो बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक राजु भित्राकोटीले जानकारी दिए ।

अहिले तत्कालका लागि वडा नं. १ वाट यो कार्यक्रम सुरु गरिएपनि कार्यक्रमको प्रभावकारिता र आवश्यकताका आधारमा थप अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गरिने कार्यक्रम संयोजक भित्राकोटीको भनाई छ ।

बाख्रा वितरण अघि बैशाख १९ गतेदेखि २१ गते सम्म स्थानीयलाई बाख्र्राको स्हारसुसार सम्बन्धि तालिम समेत दिइएको थियो । लामो समयदेखि पशुपालन सम्बन्धि तालिम दिँदै आएका कृष्ण धिताल र नारायण भट्टराईले तालिम दिएका थिए । गोठसुधार, प्रजनन, आहारविहार देखि बा्रखालाई दिइने दानापानी र रोगकिराबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक कृष्ण धितालले जानकारी दिए ।

पहाडी क्षेत्रमा प्रशस्तै चरिचरन भएकाले पनि बाख्रापालनको राम्रो सम्भावना रहेकाले परीक्षण स्वरुप वडा नं. १ लाई पैंचो स्वरुप ५० वटा बाख्रा वितरण गरिएको हो । बाख्रासँगै बाख्रालाई खुवाउने घाँसको विउ, दानाचोकर समेत वितरण गरिएको छ ।