शिवालय टोल विकास संस्थाको रक्तदान : ५८ युनिट रगत संकलन

May 27, 2023 7:49 pm

रत्ननगर, जेठ १३ ।
रत्ननगर १५ मा रहेको शिवालय टोल विकास संस्थाले  आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन गरिएको छ । चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा २१ जना महिला सहित ५८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रमका सोही वडाका वडाध्यक्ष आशिक तामाङले चितवनमा रगतको अभाब भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लानुपर्नेमा जोड दिए । उनले रक्तदान कार्यक्रमको लागि वडाले गर्न सक्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

संस्थाका अध्यक्ष प्रेमप्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु ईमप्रसाद पन्त, शिवप्रसाद तिवारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका निवर्तमान सभापति  ज्ञानशाली न्यौपाने, दिग्दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दण्डपाणी लामिछाने, १९ वटै टोल विकास संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।