रत्ननगर १० का पशुपालक किसानलाई पौष्टिक आहार सम्बन्धी प्रशिक्षण

May 25, 2023 7:37 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का पशुपालक किसानलाई पशु पोषण आहार सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयले किसानलाई व्यवसायिक बनाउदै दुधको उत्पादन बढाउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको वडा सचिव सुरेन्द्र चौधरीले जानकारी दिए । पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्था र हरिहर दुग्ध उत्पादक सहकारी संस्थासंगको सहकार्यमा आयोजित कार्यक्रममा वडा भित्रका ५२ जना किसानको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगालले पशुपालनमा उपकरणको प्रयोग र पशुआहार व्यवस्थापनमा ध्यान दिन किसानलाई आग्रह गरे । उपकरणको प्रयोग गरी गाईलाई तिर्खा लाग्दा आफै पानी खान सक्ने व्यवस्था मिलाउनु पर्ने बताए । घाँसमा आधारित पशुपादलनले उत्पादन बृद्धि भई मुनाफा आर्जन गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा पशु चिकित्सक डा.सन्तोष घिमिरे र रत्ननगर नगरपालिकाका पशु विकास अधिकृत शालिग्राम पौडेलले गाईभैसीको उपचार र दुध उत्पादन बृद्धिका लागि आवश्यक पौष्ट्रिक आहार व्यवस्थापनको बारेमा प्रशिक्षण दिएका थिए । वडा सदस्य गोमदेवी भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पञ्चामृत बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मणिप्रकास खतिवडा, हरिहर दुग्ध उत्पादक सहकारी संस्थाका सचिव थानेश्वर चालिसे,पर्सौनी टोल विकास संस्थाका अध्यक्ष बेदप्रसाद पाण्डे लगायतले मन्तव्य राखेका थिए ।