रत्ननगरमा आनन्द मार्गको भवन शिलान्यास

May 20, 2023 12:15 pm

रत्ननगर ,जेठ ६ ।
पूर्वी चितवनको रत्ननगरमा निर्माण हुन लागेको आनन्द मार्ग प्रचारक संघको भवन शिलान्यास गरिएको छ । रत्ननगर २ मा निर्माण हुन लागेको भवनको शनिबार रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शिलान्यास गरेका हुन । आनन्द मार्गका पूर्व अध्यक्ष मन बहादुर रानाभाटले दान गरेको एक कट्ठा जग्गामा भवन निर्माण हुन लागेको मार्गका केन्द्रिय अध्यक्ष बिष्णु प्रसाद बरालले जानकारी दिए ।

संस्थाले विभिन्न ठाँउमा योग ध्यान प्रशिक्षण , आश्रम तथा बाल आश्रम, सार्वजनिक गुठी अन्तर्गत विद्यालय संचालन गरिरहेको संस्थाका भूतपूर्व अध्यक्ष तथा जग्गादाता रानाभाटले जानकारी दिए । उनले प्राकृतिक प्रकोपका बेला राहत वितरण , निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्य पनि संस्थाले गर्दै आइरहेको बताए ।

कार्यक्रममा मेयर सापकोटाले पछिल्लो समय मानव सभ्यता नाजुक अवस्थाबाट गुज्रिरहेको, जिवनदेखी निराशहुने व्यक्तीहरुको संख्या बढ्‌दै गइरहेको भन्दै यसलाई कम गर्न आनन्द मार्ग ध्यान केन्द्रले भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले ध्यान केन्द्रको लागि रत्ननगर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका विज्ञ सल्लाहकार रामहरी न्यौपाने , उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ , खैरहनी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गुणराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । २०४७ सालमा स्थापना भएको आनन्द मार्ग प्रचारक संघ नेपालको देशभर १५ वटा जिल्लामा आफ्नै भवन सहित २५ जिल्लामा शाखा रहेको छ ।