रत्ननगरमा २ हजार ५ सय परिवारको स्वास्थ्य बिमा

May 18, 2023 6:00 pm

चितवन : चितवनका सातपालिकामध्येको एक रत्ननगर नगरपालिका । पूर्वी चितवनमा रहेको यो नगरपालिका विकास निर्माण सँगसँगै जनजिविका र जनस्वास्थ्यका सवालमा निकै क्रियाशील देखिएको छ । पछिल्लो पटक नगरपालिकाले दुई हजार पाँच सयभन्दा बढी विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाले घोषणा गरेको ‘नगर गौरवका योजना’अन्तर्गत चालु आर्थिक वर्षमा २ हजार ५०३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको हो । गरिबीको रेखामुनी रहेका नगरका २ हजार ५०३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको नगरप्रमुख प्रल्हाद सापकोटाले बताए ।

आफू निर्वाचित भएर कार्यभार सम्हालेको दिनमा नै नगरप्रमुख सापकोटाले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयलाई पहिलो नगर सभाबाट पारित गराई ३ हजार ५ सय विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखिएको थियो । नगरसभाले निःशुल्क स्वास्थ्य बिमाको लागि एक करोड २० लाख रुपैयाँ विनियोजनसमेत गरेको थियो । आर्थिक अभावका कारण विपन्न समुदाय स्वास्थ्य उपचारबाट बन्चित हुनुपर्ने बाध्यताबाट मुक्त गराउन ‘नगर गौरवको योजना’अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा गरिएका नगरप्रमुख सापकोटाले जानकारी दिए ।

‘आर्थिक अभावका कारण कसैको ज्यान गुमाउनु नपरोस्’ उनले भने ‘नगरवासीको जीवन रक्षा गर्ने जिम्मेवारी स्थानीय सरकारको पनि हो ।’ नगरपालिकाभित्रका स्वास्थ्य बिमा गराइएका परिवारले बकुलहर रत्ननगर अस्पतालमा उपचार सेवा पाउनेगरी व्यवस्था मिलाइएको छ । थप उपचारको लागि अन्य अस्पताल जानु परे ‘रिफर’ गरेर बिरामी लैजान सकिने भएकाले स्वास्थ्य बिमाको उपचारको लागि तोकिएका जुनसुकै अस्पतालमा पनि उपचार गर्न सकिने गरी बिमाको व्यवस्था मिलाइएको छ । वडा कार्यालयबाट सिफारिस भईआएका परिवारको स्वास्थ्य बिमा गरिएको हो ।

स्वास्थ्य बिमाको लागि विपन्न परिवारले वडामा दिएको निवेदनका आधारमा छानबिन गरी वास्तविक विपन्नको पहिचान गरी नगरपालिकाको स्वास्थ्य शाखा विवरण पठाउन भनिएको थियो । गरिबीको रेखामुनी रहेका, दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका परिवारको पहिचान गरी स्वास्थ्य बिमा गरिएको नगरप्रमुख सापकोटाले बताए । यसरी छानबिन गरी छनोट गरिएका परिवारहरुको तथ्यांकमा वडागतरुपमा सबैभन्दा धेरै वडा नं १४ का २ सय ९६ सबैभन्दा कम वडा नं. १३ बम ३७ परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।

वडागतरुपमा यो संख्या क्रमशः वडा नं १ का ७०, वडा नं २ का ५४, वडा नं ३ का २२१, वडा नं ४ का १५९, वडा नं ५ का १३३, वडा नं ६ का १३७, वडा नं ७ का २०६, वडा नं ८ का १७२, वडा नं ९ का १८६, वडा नं १० का ११३, वडा नं ११ का २०४, वडा नं १२ का १९५, वडा नं १३ का ३७, वडा नं १५ का १४२ र वडा नं १६ का १५१ रहेको रहेको छ ।

स्वास्थ्य बिमाको लागि नगरपालिकाले प्रतिपरिवार लाग्ने शुल्क ३ हजार ५०० रुपैयाँका दरले भुक्तानी गरिसकेको छ । २ हजार ५०३ परिवारको स्वास्थ्य बिमाको लागि ८७ लाख ६० हजार ५०० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरभित्रका विपन्न परिवारको उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा विपन्न उपचार कोष स्थानपना सञ्चालनमा ल्याएको छ ।

३० लाखको उक्त कोषबाट एउटा विरामीले अधिकतम १० हजार रुपैयाँसम्मको उपचार खर्च पाउने कार्यविधि बनाइएको छ । अभिभावकविहीन परिवार र दुई छाक टार्न मुस्किल हुने नगरभित्रका परिवारलाई लक्षित गरी कोष निर्माण गरिएको हो । विपन्न उपचारकोषबाट हालसम्म १५० बढी बिरामीले सुविधा लिइसकेका छन् । ज्येष्ठ नागरिकको हकमा भने नगरपालिकाले घरघरमै स्वास्थ्य परीक्षण सेवा पु¥याइरहेको छ । नगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी परिचालन गरी ज्येष्ठ नागरिकको दीर्घरोगको जाँच र औषधिसमेत वितरण हुँदै आएको छ ।