चितवन : चिवतनको राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा राजकुमार भट्ट पुनः निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको अबेर राती आएको नतिजाअनुसार अध्यक्षमा भट्ट ७७३ को फराकिलो मतान्तरले विजयी भएका हुन् । सरसफाइ समितिको अध्यक्षमा भट्टको यो तेस्रो कार्यकाल हो ।
भट्टले दोस्रो कार्यकालमा पनि सहज जित निकालेका थिए । त्यतिबेला उनी अष्ट्रेलियामा बस्थे । अहिले तेस्रोपटकको निर्वाचनमा ह्याट्रिक गरेका भट्टले खसेको कुल मतको झण्डै ८२ प्रतिशत मत प्राप्त गरेका छन् । भट्टको विरुद्धमा नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकीकृत र राप्रपाले गठबन्धन गरी चुनाव लडेका थिए । चारवटा पार्टीको गठबन्धन हुँदा पनि भट्टले एक्लै एमालेबाट सहज जित निकालेका छन् । गठबन्धनबाट अध्यक्षका प्रत्याशी कांग्रेसका कृष्णप्रसाद पाण्डे उम्मेदवार थिए । उनी नेपाली कांग्रेस राप्ती नगर समितिका उपसभापतिसमेत हुन् ।
तेश्रो पटक अध्यक्षमा बाजी मार्ने शिलशिलामा भट्टले कुल खसेको मत मध्ये ९२३ मत प्राप्त गर्दा उनका प्रतिद्व्रन्द्वी पाण्डेले लज्जास्पद १५० मत मात्रै प्राप्त गरे । निर्वाचनमा एक हजार १२३ मत खसेको थियो भने पदाधिकारीहरुमा भट्ट नेतृत्वको सम्पूर्ण प्यानल विजयी भएको छ । अध्यक्षबाहेक अन्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्यानल नै खडा गरेको थियो ।
समितिको उपाध्यक्षमा उद्धवप्रसाद सिलवाल ३७० मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी ज्ञानप्रसाद पाण्डेले २८९ मत र रघुनाथ उप्रेतीले २३५ मत प्राप्त गरेका थिए । सचिवमा भने रामेश्वर गौतम निर्विरोध भएका थिए । त्यसैगरी कोषाध्यक्षमा रामप्रसाद बर्तौला निर्वाचित भएका छन् । कर्तौलाले ४३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मन्जु खरेल र रामबहादुर राईले क्रमशः २७७ र २०८ मत ल्याएका थिए । सहसचिवमा विजयी गोकर्णबहादुर बिसुन्केले ३२९ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्धीहरु सन्दीप धरेलले ३१८ मत र दीपककान्त पाठकले १५५ मत पाए ।
सदस्यहरुमा एमालेनिकट पाँच जनाले बाजी मार्दा राप्रपानिकट विष्णुदेवी ठकुराठी ३८२ मतसहित विजयी भइन् । विजयी अन्य सदस्यहरुमा शिष्टता थपलियाले ४१८ मत, चन्द्रबहादुर राईले ३२७ मत, लीलानाथ घिमिरे ३२६ मत, बुद्धिराज उप्रेतीले ४९० मत र विष्णुप्रसाद ढकालले ३५८ मत पाए ।