प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता जेठ १ गते बाट हुने

May 13, 2023 4:11 pm

रत्ननगर, बैशाख ३० । रत्ननगरमा सोमबारदेखि प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिको आयोजनामा टिकौंली चौरमा प्रथम रत्ननगर कप खुल्ला फुटबल प्रतियोगिता २०८० हुन लागेको रत्ननगरमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको हो ।

कार्यक्रमका खेल संयोजक सरोज महतोका अनुसार आउँदो जेठ १ गते देखि १४ गतेसम्म प्रतियोगिता हुने छ । टिकौंली चौरको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २ लाख २२ हजार २ सय २२ र द्धितीय हुनेलाई रु १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महतोले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु १ हजार नगद सहित मेडल प्रदान गरिने जानकारी दिए ।

प्रतियोगितामा चितवन, मकवानपुर, नवलपरासी जिल्लाका सहित १६ वटा टिमको सहभागिता रहने राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटिका अध्यक्ष सन्देश पन्तले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा खेल समितिका उपसंयोजक रोमन तामाङ, युथ फोर्स वागमती प्रदेश सदस्य राजु गुरुङ, राष्ट्रिय युवा संघ रत्ननगर नगर कमिटि सदस्य आश्विन लामा लगाएतको उपस्थिति रहेको थियो ।