न्यू स्पिडी स्कुलमा शैक्षिक गुणस्तर सुधार गर्न छलफल

May 13, 2023 3:58 pm

रत्ननगर, बैशाख ३० । रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको न्यू स्पिडी ईङ्गलिस बोडिङ स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा छलफल भएको छ ।

विद्यार्थीका अभिभावक र शिक्षकहरु विच शैक्षिक गुणस्तर सुधारका विषयमा शनिवार छलफल भएको हो । छलफलमा आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिएको छ ।

विद्यालयको शैक्षिक स्तर कसरी स्तरीय बनाउन सकिन्छ ? आजको संसारमा विद्यालयको जनशक्ति कसरी व्यवस्थापन हुन सक्छ ? समाज रुपान्तरणका लागि शैक्षिक संस्थाको दायित्व के हो ? लगायत विषयमा अभिभावक र शिक्षकहरुविच व्यापक छलफल भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लिराम पोखरेलले बताए ।

शैक्षिक गुणस्तर सुधारका विषयमा बोल्दै पोखरेलले पहिलेको भन्दा अहिले यस विद्यालयमा शिक्षाको गुणस्तरमा धेरै भन्दा धेरै सुधार आएको बताए । विद्यार्थीको सिकाइप्रति यस विद्यालयले सधै चासो र चिन्ता लिने गरेकाले शैक्षिक स्तरमा राम्रो उन्नती र प्रगति हुँदै गईरहेको उनको भनाई छ । विद्यार्थीलाई पठाई संगसंगै प्रयोगात्मक शिक्षण सिकाईमा विशेष जोड दिईरहेको उनले बताए ।

विद्यालयका प्राचार्य अर्जुन बहादुर थापाले विद्यार्थीलाई स्कुल बाहेक घरमा पनि पढ्न मिल्ने वातावरण सृजना गरिदिन अभिभावकहरुलाई आग्रह गरे । शैक्षिक गुणस्तरलाई अझ सुधार गर्नका लागि सबै कटिबद्ध भएर लाग्नुपर्ने बताए । सबैले आ–आफ्ना कमीकमजोरी औँल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

पढाईमा कमजोर भएका विद्यार्थीहरुका लागि डे होस्टेजको व्यवस्था मिलाएर छुट्टै कक्षाहरु सञ्चालन गर्ने उनले बताए ।

प्राचार्य थापाले भने, ‘अभिभावक र सबैको साथ सहयोग रहने हो भने भने चाँडै न्यू स्पिडी स्कुलको शैक्षिक गुणस्तर सुधारमा आमूल परिवर्तन आउने छ ।’

छलफल कार्यक्रममा, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०५० सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्यापनरत छन् ।