छात्रा आत्महत्या प्रकरण: चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन

May 11, 2023 9:19 pm

चितवन । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।

मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।

बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।

प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।