महिलाहरुको जीवनस्तर उकास्न एड्वानको उद्धमशिलता तालिम

May 8, 2023 4:47 pm

२५ बैशाख, खैरहनी
मदन अच्छामी ।
विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीवनस्तर सुधारको लागी आधारभूत सिप विकास कार्यक्रम अन्तर्गत उद्धमशिलता क्षमता विकास सम्वन्धि तालिमको आज एक समारोहका विच समापन गरिएको छ । एड्वानको आयोजनामा उक्त तालीम यहि बैशाख २० गते देखि आयोजना गरिएको थियो । करुणा ट्रस्ट / फ्यानको सहयोगमा कार्यक्रम संचालन भएको थियो । दिनेश परियारले ५ दिन सम्म समन्वय गर्नुभएको उक्त तालिममा खैरहनी नगरपालिका ५ र ६ नम्वर वडामा रहेका ३ समुहको ४५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेतीले एड्वानले गरेको यो कामले विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउनु भयो । साथमा स्थानिय श्रोत र साधनलाई उचित समायोजन गर्न सके सानो लगानी बाट पनि उद्योग संचालन गर्न सकिने उनको जोड थियो, समुहहरुले योजना बनाएर नगरपालिकामा सम्पर्क राख्न आएमा सहयोग गर्ने समेत उनको प्रतिवद्धता थियो ।

कार्यक्रममा खैरहनी ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, खैरहनी ६ का वडाध्यक्ष कमल प्रसाद न्यौपाने, एड्वानका कार्यकारी निर्देशक कमल बाबु परियार, खैरहनी ५ का सदस्य मगनी महतो लगायतले मन्तव्य राख्नुभएको थियो । सभाध्यक्ष समेत रहनुभएकी निलगिरी महिला समुहको अध्यक्ष सविता चौधरीले एड्वानले आफुहरुको जीवनस्तर सुधार्न महत्वपुर्ण भूमिका खेलेको भन्दै सबै महिला दिदीबहिनीहरुले दत्तचित्त भएर सिकेको सीपलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।