व्यवसायी कँडेलको शव देवघाटमा अन्त्येष्टि

May 7, 2023 7:52 pm

चितवन : चितवनका सफल पोल्ट्री व्यवसायी एवं नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेलको शवको शनिबार ५ दिनपछि देवघाटमा अन्त्येष्टि गरिएको छ । वैशाख १९ गते साँझ कँडेलको आफ्नै निवासमा रहेको अफिसमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

शवयात्रा सुरु गर्नुअघि शवयात्रा निकालिएको थियो । भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासमा पुगेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वरक्षामन्त्री मिनेन्द्र रिजाल, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेताहरुले कँडेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

निवासबाट निकालिएको शवयात्रा मालपोत चोक, चौविसकोठी हुँदै नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयसम्म पुगेको थियो । पार्टी कार्यालयबाट देवघाटसम्म शवयात्रा निकालिएको हो । नेकपा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने र अन्य विभिन्न पार्टीका नेताहरु पनि देवघाट पुगेर स्वर्गीय कँडेलको पार्थिव शरिरमा फूल पुष्प तथा जल अर्पण गरेका थिए ।

मृतक कँडेल चितवन नेपाली कांग्रेस चितवनका महासमिति सदस्य थिए । व्यवसाय चलिरहेकै अवस्थामा कंडेलले अनमोल फिड्सको ८५ प्रतिशत शेयर व्यवसायी प्रदीप रुङ्गटालाई बेचेका थिए । आत्महत्या गर्नुअघि कँडेलले आठ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेका थिए । उनको सुसाइड नोटमा कँडेलले पार्टनर रुङ्गटा र चार्टड एकाउन्टेन्ट जीवन रावलको दबाबका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख थियो । सोही तथ्यका आधारमा कँडेलका भाइले रुङ्गटा र सीए रावलविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सीए रावल पक्राउ परिसकेका छन् ।