चितवन: पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेललाई आत्महत्या गर्न बाध्य पार्नेको पहिचान गरी कारबाही गर्न कुखुरापालन र पोल्ट्री क्षेत्रसँग सम्बन्धित विभिन्न ६ संगठनले माग गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्च, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ, चितवन नवलपुर दाना उद्योग संघ, नेपाल लेयर्स कुखुरापालक संघ, नेपाल ह्याचरी उद्योग संघ, बागमती प्रदेश र नेपाल दाना उद्योग संघ, चितवनले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।
‘शंकरप्रसाद कँडेलको असमायिक निधनको अविलम्ब सत्य तथ्य छानबिन गरी उहाँलाई मृत्युवरण गर्न बाध्य पार्ने तत्त्वहरूको पहिचान गरी आत्महत्या दुरुत्साहन कानूनअनुसार आवश्यक कारबाहीका लागि माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
उद्योग व्यवसाय सञ्चालन गरी १५० भन्दा बढीलाई रोजगारीको अवसर सिर्जना गर्ने, देशको अर्थतन्त्रमा सहयोग पुर्याउने व्यवसायीको हत्या चिन्ताको विषय भएको उल्लेख गर्दै उनीहरूले यस्तो अवस्था सिर्जना हुनुको कारण पहिल्याउनेतर्फ गम्भीर हुन पनि सरकारसमक्ष आग्रह गरेका छन् । यी संघ संगठनले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीका कारण उद्योग व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले दिने तनाव, उद्योग व्यवसाय सञ्चालनका लागि पुँजीको अभाव, उधारो कारोबार गर्नुपर्ने अवस्था, उधारो असुलीमा हुने ढिलासुस्तीका कारण चालूपुँजीको अभाव यावत कारण व्यवसायीहरू कठिन अवस्थामा गुज्रन पुगेको पनि स्मरण गराएका छन् ।
आर्थिक संकटमा परेपछि केही महिनाअघि मात्रै आफू नेतृत्वको अनमोल फिड कम्पनीको सेयर बिक्री गरेका कँडेलले मंगलबार आत्महत्या गरेका थिए । घटनास्थलबाट प्रहरीले उनको सुसाइड नोट बरामद गरेको छ जसमा उनले व्यवसायी प्रदीप रुंगाटाले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् । त्यस्तै, चार्टड एकाउन्टेन्ट जीवन रावलको पनि उनले नाम लिएका छन् । सुसाइड नोटमा त्यस्तो व्यहोरा फेला परेपछि उनको परिवारका सदस्यले प्रहरीसमक्ष रुंगाटासँगै चार्टड एकाउन्टेन्ट जीवन रावलविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दुईविरुद्ध आत्महत्या दुरुत्साहन उजुरी परेको पुष्टि गर्दै उनीहरूको खोजी थालेको जनाएको छ ।