१७ बैशाख, रत्ननगर । रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलको वार्षिक परिक्षाफल प्रकाशन, नया विद्यार्थीलाई स्वागत, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम आज एक समारोहका विच सम्पन्न गरिएको छ । सोहि अवसरमा शैक्षिक सत्र २०७९ को परीक्षाफल प्रकासन गरि शैक्षिक क्षेत्र तथा विविध विधामा सर्वोत्कृष्ठ हुन सफल विद्यार्थीहरुलाई पुरस्कार उपलव्ध गराईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुग्नुभएका रत्ननगर नगरपालिका वडा नम्वर १० का अध्यक्ष कलाधर पौडेलले एञ्जल्स स्कुलले पछिल्लो समयमा एक पछि अर्को गर्दै सफलताको सिढी चढ्दै गएकोमा समग्र विद्यालय परिवारलाई धन्यवाद प्रकट गर्नुभएको थियो । विगतको दिनमा ४ जीपीए सहित एसइइ मा नेपालकै सर्वोत्कृष्ठ भएको स्मरण गर्दै आगामी दिनमा पनि त्यस्ता खालका विद्यार्थी निकाल्न विद्यालय सफल हुने उनको भनाई थियो ।
शैक्षिक सत्र २०७९ को कक्षा ८ को नगरपालिकाले लिने परिक्षामा समेत रत्ननगर नगरपालिका भरिकै सर्वोत्कृष्ठ नतिजा हासिल गरेकोमा यस विद्यालयका प्राचार्य गणेश शर्माले शिक्षक, अभिभावक, विधार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै अहिले अभिभावकहरुको रोजाईको विद्यालय बनेकोमा गौरवको महशुस भएको बताए । विद्यालयमा हाल कितावी ज्ञानका अतिरिक्त उद्घोषणकला, नृत्य कक्षा, स्काउट, तेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलाप संचालन भैरहेको र आगामी दिनमा अन्य थप क्रियाकलापहरुमा आफुहरु केन्द्रित रहने प्राचार्य शर्माको भनाई थियो ।
कार्यक्रममा क्रिष्टल कलेजका प्रमुख एक बहादुर जिसी, शिक्षक अभिभावक संघका कार्यवाहक अध्यक्ष रामु आचार्य, विद्यालय व्यवस्थापन समितिका नि-वर्तमान अध्यक्ष युग बहादुर थापा, शिक्षक अभिभावक संघका सदस्य रमेश आचार्य, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम कार्की, प्रावि तह प्रमुख कविता ढकाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले प्रस्तुत गरेका गायनकला पनि उत्कृष्ठ रहेको थियो । पछिल्ला केहि बर्षहरुमा एञ्जल्स वर्ल्ड स्कुलको नतिजा उत्कृष्ठ बन्दै गए पछि समस्त अभिभावक तथा विधार्थीहरुको चासो यो विद्यालय तर्फ मोडिएको छ ।