रत्ननगरका महिलालाई आधुनिक गहना बनाउने तालिम

April 28, 2023 6:46 pm

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरका महिलाहरुकाे लागि आधुनिक गहना बनाउने तालिम सुरु भएकाे छ । रत्ननगर नगरपालिकाे आर्थिक सहयाेगमा नारी जागरण केन्द्र रत्ननगरले तालिमकाे आयाेजना गरेकाे हाे । महिलाहरुलाई सीप विकास मार्फत आत्मनिर्भर बनाउन चुरा,पाेते तथा क्रिष्टलका गरगहना बनाउने तालिम आयाेजना गरिएकाे केन्द्रकी महासचिव सरस्वती लामाले जानकारी दिइन् ।

तालिमकाे रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले एक अाैपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । साे अबसरमा उनले तालिममा सिकेका कुरालाई जीवननिर्बाहकाे माध्यम बनाउनु पर्ने बताए । अहिले सम्म तालिममा गरिएकाे लगानीले अपेक्षाकृत उपलब्धी हासिल हुन नसकेकाे भन्दै उनले आफुले आर्जन गरेकाे सीपलाई सम्पतिकाे रुपमा लिन आग्रह गरे ।

नारी जागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले आर्थिक रुपमा महिलालाई सक्षम बनाउन सीपमुलक कार्यक्रम गरिएकाे भन्दै चुरा,पाेते र क्रिष्टलका गहनाकाे बजार राम्राे रहेकाले विपन्न समुदायका महिलाहरुलाई तालिम दिइएकाे बताइन । पाँच दिने साे तालिममा २२ जना महिलाकाे सहभागिता रहेकाे छ । तालिममा लक्ष्मीदेवी तामाङले गरगहना बनाउन सिकाएकी छन् । केन्द्रकी अध्यक्ष खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा निवर्तमान अध्यक्ष सपना बाेहाेराले तालिमकाे उद्देश्यका बारेमा प्रकाश पारेकी थिइन । उद्घाटन कार्यक्रममा उपाध्यक्ष विष्णुकुमारी आचार्यले स्वागत मन्तब्य राखेकी थिइन् ।