रत्ननगरमा रुपान्तरणकारी सामाजिक परिचालन तालिम

April 26, 2023 7:42 pm

मदन अच्छामी, १३ बैशाख, चितवन ।
महिलाहरु मार्फत समाज रुपान्तरण गर्ने अभियान अन्तर्गत एड्वानले रत्ननगरमा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न गरेको छ । गत बैशाख ९ गते देखि सुरु गरिएको तालिम आज एक समारोहका विच समापन गरिएको हो । रत्ननगर ११ र १२ का दुई महिला समूहको ४० जनालाई तालिम प्रदान गरिएको थियो । सोनालाल चौधरीले प्रशिक्षण प्रदान गर्नुभएको उक्त कार्यक्रममा महिलाहरुले समाजमा प्रदान गर्नसक्ने योगदान, व्यक्तित्व विकास, नेतृत्व विकास, वाककला लगाएतका विषयमा जोड दीएको थियो ।

कार्यक्रममा सहभागी २ समुहको को तर्फबाट प्रतिवेदन, मुल्यांकन तथा समिक्षा प्रस्तुत गरिएको थियो l तालिम बाट लैङ्गिक विभेद, महिला हिंसा न्यूनीकरणमा महिलाको भूमिका, व्यक्तित्व विकास, नेतृत्व विकास, वाककला जस्ता कुराहरुको बारेमा आफुहरुले जानकारी प्राप्त गरेको सहभागीहरुले बताए l

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रत्ननगर नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष श्याम कुमार श्रेष्ठले एड्वानले गरेको यो कामले महिलाहरुलाई भोलिका दिनमा धेरै फाईदा पुग्ने बताउदै पछिला दिनहरुमा वडाले गर्नुपर्ने सहयोगमा आफु प्रतिवद्ध रहेको समेत उल्लेख गर्नुभएको थियो l

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष सुन्दरमणि सुवेदी, कार्यपालिका सदस्य चन्द्र कला पनेरु, वडा सदस्यहरु लगाएतको उपस्थिति थियो l युएसआईडिको सहकार्यमा गरिएको कार्यक्रम नेपाल दलित महिला उत्थान संघ एड्वानका उपाध्यक्ष तीर्थकुमारी विकको अध्यक्षतामा सम्पन्न भएको थियो l