रत्ननगर । शिवशिखर बहुउद्देश्यीय सहकारीबाट पीडित बनेका बचतकर्ताहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सहकारीबाट ठुलो संख्यामा बचतकर्ता ठगिएको भन्दै संस्था रत्ननगर र भरतपुरमा गठन भएको संघर्ष समिति रकम फिर्ताको माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन । संघर्ष समितिका संयोजक सुरेशजंग पाण्डेले ध्यानाकर्षण पत्र बुझाउँदै विगत ६/७ महिनादेखि बचतकर्ताले संस्थाबाट रकम नपाउँदा पीडित बनेको उल्लेख गर्दै वडा, नगर र जिल्ला हुँदै केन्द्रसम्म जानकारी गराउँदासमेत सञ्चालक तथा प्रमुख कर्मचारीहरु सम्पर्कमा नआएको गुनासो प्रजिअलाई जानकारी गराएका थिए ।
ध्यानाकर्षण पत्रमा सहकारीकोे लापरबाहीबाट पूर्वी चितवनमा प्रत्यक्षरूपमा ४ हजार ८ सय जना र अप्रत्यक्षरूपमा हजारौँ मानिस र भरतपुरमा ८ हजार बचतकर्ता मारका परेको उल्लेख गरिएको छ । सो सहकारीले रत्ननगरमा मात्र २४ करोड बढी रकम फिर्ता गर्नुपर्ने देखिएको छ । संघर्ष समितिले चरणबद्धरूपमा आन्दोलनका कार्यक्रम घोषणा गरी देशव्यापी संघर्ष गर्ने जनाएको छ ।हामीले रकम फिर्ताको लागि निरन्तर पहल गरिरहेका छौं संघर्ष समितिका संयोजक पाण्डेले भने सञ्चालकहरु फरार छन्, हामीले राज्यको सहयोग मागेका छौं ।
ध्यानाकर्षण पत्रमा ६ बुँदे माग समेत गरिएको छ । सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने, चल्ती, बचत, शेयर र मुद्दतीको रकम छुट्याउने, सघर्ष समितिको रोहबरमा सञ्चालक,केन्द्रीय कार्यालयका कर्मचारी र शाखा कार्यालयका कर्मचारी बीच सयुक्त छलफल गराउने, आधिकारी निकायबाट लेखा परीक्षण गराउनु पर्ने, सहकारीद्धारा सञ्चालित कम्पनीले लिएको सम्पूर्ण ऋण र लगानीको पूर्ण विबरण उपलब्ध गराउनु पर्ने, शेयर सदस्य राखी बार्षिक साधरण सभा गराउनु पर्ने माग गरिएको रत्ननगरको संघर्ष समितिका सहसचिव शंकर पौडेलले जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले पीडित बनेका बचतकर्ताहरुको न्यायको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसैबीच पीडितहरुको ज्ञापनपत्र बुझेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अनुसन्धानको लागि सहकारी विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्रचार समेत गरेको छ ।