चितवन । आइतबार (भोलि) हुने चितवन–२ को उपनिर्वाचनको मतदानका दिन अनुमति लिन नपर्ने एम्बुलेन्स र दमकल तथा निर्वाचन प्रयोजनका लागि अनुमति लिएका निश्चित सवारी साधन बाहेक अन्य सबै सवारी साधन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रोक लगाइने भएको छ ।
यसअघि शुक्रबार दिउँसो चितवन जिल्ला प्रशासन कार्यालयले लामा दुरीका यात्रु बस समय मिलाएर सुरक्षा निगरानीका साथ समूहमा चलाउने जानकारी गराएको थियो । पछि अर्को सूचना निकालेर यो सुविधा हटाएको छ ।
चितवा–२ मा महत्त्वपूर्ण राजमार्गहरू पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग पर्दछन् । पोखराबाट सुरू भएको पृथ्वीराजमार्ग मुग्लिन हुँदै चितवनको सिमाना मौवाखोला कटेर धादिङ छिर्छ । पृथ्वीराजमार्गको पूरै चितवन खण्ड मतदान हुने चितवन–२ मै पर्दछ । त्यसैगरि नारायणगढ–मुग्लिन सडकको पनि पूरै खण्ड चितवन–२ मा पर्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन–२ मा नारायणगढ पुलचोकदेखि भरतपुर गोन्द्राङसम्मको भाग पर्दछ । मतदानका दिन गाडी चल्न नदिने निर्णयले देशको विभिन्न भागबाट चितवन हुँदै काठमाडौं पोखरा आउजाउ गर्ने सवारी साधन पनि दिनभर ठप्प हुने भएका छन् ।
गृह मन्त्रालयको निर्णय कार्यन्वयन र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम यस्तो निर्णय भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।