रत्ननगर , बैशाख ७ । रत्ननगरका डा.विश्व पौडेल अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्ना प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलको नेतृत्वमा डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट सहभागी हुने गरी विज्ञ समूह बनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पौडेल पराजित भएका थिए।
पाण्डे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यका साथै अन्तर्राष्ट्रिय व्यापार मामिलाका जानकार हुन्। डा. भट्ट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिनेछन् भने भट्टले अर्थ मन्त्रालय आएर काम गर्नेछन्।