चितवन : चितवनको कंकाली सामुदायिक वनमा अध्यक्षसहित सबै पदमा सहमति गरेर टुंग्याउने प्रयास भएपनि सहमति जुट्न नसक्दा आइतबार भएको निर्वाचनबाट ६ दलको साझा उम्मेदवार देवीप्रसाद न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको छ दलबाट सहमतिमा उम्मेदवार बनेका थिए । यद्दपि कांग्रेस र माओवादीभित्रको आन्तरिक विवाद हुँदा कांग्रेसनिकट तिलक न्यौपाने र माओवादीनिकट लोककहादुर आलेले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा कुल खसेको एक हजार ३ सय ३५ मतमध्ये अध्यक्षमा निर्वाचत न्यौपानेले ६६० मत प्राप्त गरेका थिए । न्यौपाने नेपाली काग्रेसनिकट हुन् ।
निकटतम् प्रतिद्वन्द्वी लोकबहादुर आलेले ३ सय ६७ मत तथा तिलक न्यौपनेले २ सय ८७ मत प्राप्त गरेका थिए भने २१ मत बदर भएको थियो । दलका स्थानीय प्रतिनिधिले गरेको सहमति अनुसार अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेसमर्थित उपभोक्ता शेरबहादुर आले, सचिवमा माओवादी निकटका नारायणप्रसाद खनाल, कोषाध्यक्षमा एमाले निकटका भद्रीमाया भुत्र्याल सर्वसम्मत भएका थिए । त्यस्तै लेखा समिति संयोजक राष्ट्रिय स्वतन्त्र पार्टी र दुई सदस्यमध्ये एउटा नेपाली कांग्रेस र एउटा माओवादीले पाएको थियो । अध्यक्षबाहेक अन्य पदमा सर्वसम्मत भएको छ ।