प्रेम क्षेत्री
गैंडाकोट । गैंडाकोटका व्यवसायी पवनकुमार अग्रवाल संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित हुनुभएको छ ।
नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अग्रवाललाई ‘प्रबल जनसेवाश्री’ मानपदवी प्रदान गर्नुभएको हो । अग्रवालले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गर्नुभयो ।
गरीब एवं नेपाली जनताको हितमा गरेको योगदानका आधारमा उहाँलाई विभूषित गरिएको हो । गैंडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि.का सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष व्यवसायी पवनकुमार अग्रवाललाई संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।
रंगेली नगरपालिका ७ मोरङ घर भइ अग्रवालले गैंडाकोटमा उद्योग र काठमाडौँमा च्यारिटी संस्था सञ्चालन गर्नुभएको छ । च्यारिटी नेपालका माध्यमबाट जेहेन्दार विद्यार्थी, असहायहरुलाई सहयोग गर्ने, गैंडाकोट ९ स्थित हनुमान मन्दिरमा सहयोग लगायत सामाजिक कार्यमा लाखौँ रुपैयाँ उहाँले खर्च गरिसक्नुभएको छ ।
उद्योग एवं च्यारिटीमार्फत उहाँले कोभिडका बेला गरिएको लकडाउनका समयमा देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका कार्य गर्दै आउनुभएको छ ।