रत्नगगर । पूर्वी चितवनको रत्ननगरमा अपाङ्गता समावेशी विकास सम्बन्धी प्रशिक्षण दिइएको छ ।
नेत्रहीन महिला संघले कार्यक्रम आयोजना गरी दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र जनप्रतिनिधिहरुलाई एकैठाउँमा राखेर प्रशिक्षण दिएको संघकी महासचिव अनिता सिग्देलले जानकारी दिइन् ।
कार्यक्रममा अटिजम केयर चितवन सोसाईटीका कार्यकारी निर्देशक प्रमिला न्यौपानेले नेपालमा अपाङ्गता भएका व्यक्तिको अबस्था, अपाङ्गताको परिचय, यसको अबधारणा र नितिगत व्यवस्थाको बारेमा सहजीकरण गरेकी थिइन् ।
संघकी अध्यक्ष सीता सुवेदीले कानुनी प्रावधानको विषयमा सहजीकरण गर्दै अपाङ्गता भएका महिलाहरु हिंसाको सिकार हुन बाध्य रहेको बताइन् । दुर्गमका अपाङ्गता भएका महिलाहरुको अबस्था दयनीय रहेको भन्दै उनले उनीहरुलाई आधारभूत सेवा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुनुपर्ने बताइन ।
अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकता पहिचान गरी नीति निर्माण गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या र सामधानका उपायका बारेमा समुहगत छलफल समेत गरिएको संघकी महासचिव सिग्देलले जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रल्हाद सापकोटाले अपाङ्गता भएका व्यक्तिको सम्मान, अधिकार र आयआर्जनको लागि स्थानीय सरकारको हैसियताले प्राथमिकता दिएको बताए । कार्यालय भवनहरु अपाङ्गमैत्री बनाउदै उनीहरुको आवश्यकताको आधारमा अबसर प्रदान गर्ने उनले बताए ।
कार्यक्रममा नगर स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष मीनराज खनाल सहित वडाध्यक्ष, कार्यपालिका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संस्था तथा समितको प्रमुख तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।