पूर्वराजा वा एमालेलाई दोष दिएर पन्छिन पाइन्नः गगन थापा

April 11, 2023 7:49 pm

काठमाण्डौं,२८ चैत । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए । उनले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे ।

उनले ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।

‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु-म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार, ४ सय भन्दा बढि ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसकेका छन् । त्यो ठीक, बेठीक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अब कसैलाई दोष दिएर पाईदैन । अव भूतप्रेतलाई भनेर पनि पाईन्न । भूतपूर्व राजालाई भनेर पनि पाईन्न’, महामन्त्री थापाले भने, ‘अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न । गर्ने जिम्मा लिएर आएपछि अव हामीले गर्नुपर्छ । अवको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने रु कांग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अव कसैलाई दोष पन्छाएर पाईन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाई थियो ।

महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।