खैरहनी । विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जन सुधारको लागी आधारभूत सिप विकास कार्यक्रम अन्तर्गत भेडे तथा अकवारे खुर्सानी र लहरे तरकारी खेति सम्वन्धि तालिमको आज एक समारोहका विच समापन गरिएको छ । एड्वानको आयोजनामा उक्त तालीम यहि चैत १९ गते देखि आयोजना गरिएको थियो । करुणा ट्रस्ट / फ्यानको सहयोगमा कार्यक्रम संचालन भएको थियो । डा. भिम बहादुर विश्वकर्माले ७ दिन सम्म समन्वय गर्नुभएको उक्त तालिममा उर्जा कृषि महिला समूहका १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिममा हप्ता दिन सम्म सहभागी हुनुभएकी उर्मिला श्रेष्ठले तालिम आफुहरुकोलागी निकै हितकर भएको बताउनुभयो । तालिममा तरकारीमा मलको मात्रा, गोडमेलको तवर, व्यवसायमुखी खेती कसरि गर्ने लगायतका धेरै कुराहरु आफुहरुले जानेको सहभागीहरुको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै खैरहनी नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष दिपेन्द्र कुमार दराईले एड्वानले गरेको यो कामले विपन्न तथा पिछडिएको समुदायको महिलाहरुको जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने बताउनु पर्यो । साथमा महिलाहरुले तरकारी उत्पादन गरेमा वडाले बजारीकरण गर्न साथ दिने उनको भनाई थियो ।
कार्यक्रममा असिन दराई, सुमित्रा गोले, गोमादेवी भुजेल लगायतले मन्तव्य राख्नुभएको थियो । सभाध्यक्ष समेत रहनुभएकी एड्वानकि अध्यक्ष विन्दु थापा परियारले वडा र एनजीओहरुको कुनै सहयोग प्राप्त गर्न नसकेका पिछडिएको महिलाहरुको पक्षमा सदैव एड्वान रहेको बताउनुभएको थियो । साथमा उंहाले ७ दिन सम्म हासिल गरेको सिपलाई महिला दिदीबहिनीहरुले प्रयोगमा ल्याउनुपर्ने समेत बताउनुभयो ।