भरतपुर ।
अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारीको परिक्षण र अनुमती पत्र उपलब्ध गराउन भरतपुरको यातायात व्यवस्था कार्यालयलाई ध्यानाकर्षण गराइएको छ । अपाङ्ग समाज चितवन र सुषुम्ना नाडी घाइते मैत्रिय समाज चितवनको तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ३/४ पाङ्ग्रे सवारी साधनको ट्रायल र अनुमती पत्र भरतपुरबाटै उपलब्ध गराउनुपर्ने माग राख्दै यातायात व्यवस्था कार्यालयका प्रमुख कालिबहादुर भुजेललाई उक्त ध्यानाकर्षण गराइएको हो ।
बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय भरतपुर
महानगरपालिकामा रहि यहिँबाट नै सवारीको परिक्षण र अनुमती पत्र प्रदान गर्न सुरु गर्दा चितवनमै रहेका सयौँ अपाङ्गता भएका व्यक्तिहरुले प्रयोग गर्ने ३/४ पाङ्ग्रे सवारी साधनको परिक्षण र अनुमती पत्र लिन काठमाण्डौँ जानुपर्ने बाध्यता रहेकोले सो को व्यवस्था भरतपुरबाट मिलाउन उक्त ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।
यस्तै ध्यानाकर्षण पत्रमा यातायात व्यवस्था कार्यालय भरतपुरको भौतिक संरचना, सञ्चार सङ्केत, सेवा प्रवाह गर्ने कक्षमाथी उल्लेख गर्ने अक्षर र सेवाहरु पहुँचयुक्त बनाइयोस जुन नेपाल सरकारको पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका २०६९ अनुसार कायम होस् भनी माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै यातायात व्यवस्था कार्यालय भरतपुरका प्रमुख कालि बहादुर भुजेलले संस्थाले राखेको बिषयले
यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सवारीको परिक्षण, बायोमेट्रिक तथा अनुमती पत्र उपलब्ध गराउने लगायतको मागलाई चाँडै नै सम्बोधन गर्ने बताउनुहुँदै कतिपय मागहरु भने यहाँबाट सम्भव नभएकाले माथिल्लो निकायमा लैजान पहल कदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले निर्माणधिन अवस्थामा रहेको कार्यालयको संरचनालाई पनि पहुँचयुक्त बनाएर सबैको लागि सहज रुपमा सेवा प्रवाह गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
ध्यानाकर्षण पत्र बुझाउने उक्त कार्यक्रममा यातायात व्यवस्था कार्यालय भरतपुरका अधिकृत सूरेश चपाईँ, अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारी, सल्लाहकार समितीका संयोजक बालकृष्ण श्रेष्ठ, सुषुम्ना नाडी घाइते मैत्रिय समाज चितवनको अध्यक्ष लक्ष्मी अधिकारी, भरतपुर महानगरपालिका अपाङ्गता परिचय पत्र बितरण समितीका सदस्य यम प्रसाद सुवेदी, अपाङ्गता अधिकार सम्बन्धी अभियान्ता टेकनाथ न्यौपाने लगायत अपाङ्ग समाज चितवन तथा सुषुम्ना नाडी घाइते मैत्रिय समाज चितवनका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।