अण्डा उत्पादक संघले सार्वजनिक गर्यो नयाँ मूल्य, उपभोक्ताले १४ रुपैयाँमा पाउने

April 6, 2023 3:14 pm

चितवन : नेपाल अण्डा उत्पादक संघले कुखुराको अण्डाको नयाँ मूल्य निर्धारण गरेको छ । अण्डा उत्पादक संघको केन्द्रीय समितिले बिहिबार (आज) बाट कार्यान्वयनमा आउने गरी अण्डाको नयाँ मूल्य कायम गरी सार्वजनिक गरेको हो ।

संघले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार ठूलो अण्डाको फार्म मूल्य ३५० कायम गरिएको छ भने त्यसको बिक्री मुल्य ३५५ कायम गरिएको छ । त्यसैगरी मझैला आकारको अण्डाको फार्म मूल्य ३ सय २५ र बिक्री मूल्य ३ सय ३० कायम गरिएकोे छ । यसअघि ठूलो अण्डा फार्मबाट ३०५ मा बिक्री हुँदा मझौला आकारको अण्डा २८० रुपैयाँमा बिक्रीवितरण गरिँदै आएको थियो ।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले दिएको जानकारीअनुसार भारतीय आयातित अण्डाका कारण स्थानीय उत्पादनले बजार नपाउनु, कुखुराको दानाको मूल्य वृद्धि हुनुलगायतका कारणले अण्डा उत्पादक किसानको लागत मूल्यसमेत नउठ्ने समस्या देखिएकाले संघ मूल्य बृद्धि गर्न बाध्य भएको हो । अध्यक्ष केसीले भने– ‘नयाँ निर्धारित मूल्यअनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १४ रुपैयाँमा अण्डा पाउनेछन्’, उनले भने, ‘संघको उद्देश्य उपभोक्तालाई महङ्गोमा बेचेर धेरै फाइदा कमाउने होइन, अण्डा उत्पादक किसानले कुखराको दाना कुखरा नै बेचेर किन्नुपर्ने अवस्था नआओस् भनी नयाँ मूल्यसूची कायम गरिएको हो ।’

अण्डा उत्पादन व्यवसायका लागि करोडौँ लगानी गरेका नेपाली पोल्ट्री व्यवसायीहरूले भारतबाट आयातित अण्डाको मुल्यले आफ्नो व्यापारमा दख्खल पु¥याएको गुनासोसमेत गरेका छन् । अण्डा उत्पादक कृषकहरुलाई प्रति अण्डा उत्पादनमा १३ देखि १४ रुपैया खर्च लागत हुने तर अण्डाको मुल्य त्यसभन्दा कम रहने हुँदा हरेक दिन घाटा सहनुपर्ने बाध्यता रहेको छ ।

‘स्थानीय निकाय, प्रदेश र संघीय सरकारले अण्डा उत्पादक किसानलाई सधैँ उपेक्षा मात्र गरेको छ, व्यवसायमा करोडाँैको लगानी भइसकेको छ, जसले गर्दा व्यवसाय छोड्न पनि सकिंदैन र व्यवसायमा टिकिरहन समेत गाह्रो भएको छ’ – अण्डा उत्पादक कृषकहरुको भनाइ छ ।