रत्ननगर । चितवनको रत्ननगरमा समुदायमा स्वास्थ्यकर्मी कार्यक्रम बुधबारदेखि सुरु भएको छ । एकसाता सम्म चल्ने सो कार्यक्रमको औपचारिक उद्घाटन वडा नं ११ मा रहेको जिरौना नगर स्वास्थ्यकेन्द्रमा उद्घाटन गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले एक औपचारिक कार्यक्रमका बीच सप्ताह व्यापी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु भएको हो । समुदायमा स्वास्थ्यकर्मीका लागि नसर्ने रोग अर्थात मुटु , क्यान्सर , मिर्गौला, दम र मधुमेह रोगसम्बन्धी जनचेतना जगाउन सो कार्यकम सुरु गरिएको हो । रत्नगरका १६ वटै वडाका सबै टोलमा दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधव पौडेलले जानकारी दिए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरवासीलाई निरोगी बनाउन रत्ननगर नगरपालिका लागिपरेको बताउँदै दीर्घरोगी एवं नसर्ने रोगका बिरामीको पहिचान गरी मासिक पाँचहजार रुपैयाँ उपचार खर्चको व्यवस्था गरिएको बताए । विपन्न वर्गका नागरिकहरु उपचार खर्चको अभावमा रोग लुकाएर हिँड्न नपरोस भनेर ३२ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गराई उपचारको पहुँचमा ल्याइएको बताए । जन–स्वास्थ्यलाई विशेष महत्व दिँदै विभिन्न क्षमता विकास कार्यकम सञ्चालन गरिँदै आएको उनको भनाइ थियो ।
रत्ननगर ११ का वडाध्यक्ष श्याम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य यशोधा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । नगर स्वास्थ्य केन्द्र जिरौनाका केन्द्र प्रमुख दुर्गा श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा लेखा शाखा प्रमुख कृष्णप्रसाद सुवेदी,वडा सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।