चितवन : आसन्न उपनिर्वाचनमा चितवन –२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। दाबी विरोधको दिन आज मंगलबार लामिछानेविरुद्ध एक व्यक्तिले इमेलमार्फत उजुरी पठाएको बताइएको छ ।
उजुरी दर्ता गराउँदा निर्वाचन अधिकृतको कार्यालयमा पुगेरै उजुरी दिए मात्रै त्यस उजुरीलाई आधार मान्ने बताउँदै जिल्ला निर्वाचन अधिकृत भीमसेन कार्कीले यो विषयमा के गर्ने भन्ने छलफल हुन बाँकी नै रहेको बताए। कार्कीका अनुसार सर्वोच्चमा रिट परेको व्यक्तिले उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी खारेजको माग राखेर इमेलमार्फत् उजुरी परेको बताइएको छ । यद्यपी, यसरी इमेल मार्फत परेको उजुरीलाई मान्न नसकिने निर्वाचन अधिकृत कार्की बताउँछन्।
‘सर्वोच्चले फैसला गरिरहेको कुरामा हामीले यहाँबाट केही गर्ने कुरा भएन,’ कार्कीले भने, ‘उजुरी गर्नेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेकोलाई मात्रै उजुरी मानेर हामीले छानबिन गर्ने, स्पष्टीकरण सोध्ने हो। कार्कीले भने– ‘उजुरीकर्ता आफै उपस्थित भएर उजुरी दर्ता नगराएसम्म इमेल वा अन्य सञ्चालमा गरिएका उजुरीलाई मान्य हुँदैनन् ।