काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले छोटो समयमा देश बनाउने अभियान थाल्न आफूहरू रास्वपामा जोडिएको बताएका छन्। रास्वपाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी परिवर्तन गर्नुलाई आफूले ‘पोलिटिकल पाराडाइम सिफ्ट’ को रुपमा रहेको बताए।
नेपाल बनाउन ढिलो भएको उल्लेख गर्दै वाग्लेले अब डेलिभरीको राजनीतिमा लाग्नुपर्ने बताए। जनताले डेलिभरीको राजनीति चाहेको उनले भनाइ छ। राजनीतिक योगदान र जेलनेल बसेको र संघर्ष गरेको आधारमा भत्ता खाने समय अब सकिएको भन्दै उनले डेलिभरीको लागि प्याराडाइम सिफ्ट भएको बताए।
‘अब जेलनेलको भत्ता खाने होइन डेलिभरी दिने समय हो। अब पर्खेर बस्ने समय छैन र यो हाम्रो अभियान त्यसैको संकेत हो। नेपाललाई चाँडै बनाउने अर्जेन्सीका कारण अब पर्खेर बस्ने अवस्था रहेन,’ वाग्लेले भने, ‘यहाँ अहिले धैर्य गर्नुपर्थ्यो, कुर्न पर्थ्यो, निगाहका कुरा आएका छन्, कृपाका कुराहरू आएका छन्, तर मैले के भनेको छु भने समय सीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा हामीले नेपालको राजनीतिलाई कोल्टे फेराउनुपर्छ भन्ने मलाई लाग्छ।’
नेपाललाई छिटो बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो रहेको बताए। वाग्लेले भने, ‘लगानीको माहौल बनाउनु अपरिहार्य छ। यो हाम्रो पुस्ताले गर्नुपर्नेछ। अहिलेको दुई वटा बाधक आर्थिक मन्दी र कुशासनमा ब्रेक थ्रु गर्नुपर्ने छ।’ उनले राजनीतिमा पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्ने बताए। पुराना दलमा टिकट किन्ने प्रवृत्तिको हाबी रहेको उनको भनाइ छ।
चुनावपछि खर्चिलो चुनाव र महंगो टिकटको खर्च उठाउनेतिर ध्यान जाने भएकोले समृद्धि छायामा परेको उनको तर्क छ। ‘खर्चिलो चुनाव र महंगो टिकटको लगानी उठाउनेतिर ध्यान जाँदा समृद्धि छायामा पर्छ,’ वाग्लेले भने, ‘सुशासनका लागि लोकतन्त्रलाई विकृत बनाइरहेको पैसाको भूमिकामा पनि प्रहार गर्नुपर्नेछ।’