रत्ननगर,चैत १८ ।
पूर्वी चितवनको रत्ननगरमा स्तनपान सम्बन्धी सचेतना मुलक कार्यक्रम शनिबार गरिएको छ । सामाजिक रुपान्तरण अभियान नेपालले सो नगरपालिकाको वडा नं १ मा कार्यक्रम आयोजना गरेको हो । गर्भबती महिलाहरुलाई स्तनपानको महत्व र आवश्यकताको विषयमा बुझाउन कार्यक्रम आयोजना गरिएको संस्थाकी सचिव अनिता अर्यालले जानकारी दिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै वडा नं १ का वडाध्यक्ष तथा नगर प्रबक्ता कुलप्रसाद सापकोटाले स्तनपान आमा र बच्चा दुबैको लागि आवश्यक रहेको भन्दै यसबारे सचेतना आवश्यक रहेको बताए । शारिरीक बनौट विग्रने डरले कतिमय महिलाहरुले बच्चालाई दुध नचुसाउने गरेको भन्दै उनले त्यसले आमा र बच्चा दुबैलाई असर गर्ने बताए । कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी सिनियर नर्स प्रेचना थपलियाले स्तनपानको महत्व र आवश्यकताको विषयमा सहजीकरण गरेकी थिइन ।
संस्थाकी अध्यक्ष रिता काप्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गिरिराज लम्सालले मन्तव्य राखेका थिए । संस्थाकी उपाध्यक्ष संगिता उप्रेतीले संस्था स्थापना पछि पहिलो कार्यक्रमको रुपमा स्तनपान सम्बन्धी सचेतना कार्यक्रम गरिएको बताइन । गर्भवती महिलालाई सचेतनापछि सुत्केरी महिलालाई पौष्ट्रिक आहार वितरण गर्ने योजना रहेको उनले जानकारी दिइन् ।