साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवनमा स्वागत

March 31, 2023 3:34 pm

चितवन : बंगलादेशमा सम्पन्न साफ यु–१७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवन जिल्ला फुटबल संघले स्वागत गरेको छ । संघले नेपाली टोलीमा रहेका चितवनका दुई र बाराका एक खेलाडीलाई बिहीबार साँझ स्वागत गरेको हो । संघले प्रतियोगितामा सहभागी भएर गृह जिल्ला फर्किएकी गोलरक्षक सुजाता तामाङ र सुशीला भुजेललाई स्वागत गरेको हो । यस्तै सोही टोलीकी अर्की गोलरक्षक बाराकी करुणा बुढाथोकीलाई पनि संघले चितवनमा स्वागत गरेको छ । उनीहरुलाई संघका अध्यक्ष कृष्ण कार्की, उपाध्यक्ष विजय घले, महासचिव रामहरि ढकाल तथा संघ पदाधिकारी र सदस्यहरुले स्वागत गरे ।

सुजाता प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनी लगातर दुई पटक साफमा नेपालको उमेर समूहको टोलीबाट उत्कृष्ट गोलकिपर घोषित भएकी हुन् । यसअघि बंगलादेशमा नै सम्पन्न महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा पनि सुजाता उत्कृष्ट गोलकिपर बनेकी थिइन् । संघका अध्यक्ष कार्कीले सुजता र सुशीलाले चितवनसँगै देशकै शिर उच्च पारेको बताए । कार्कीले खेलाडीद्धयलाई आगामी दिनमा आवश्यक हरेक किसिमका सहयोग गर्न संघ सधैं तयार रहने बताए । उनले खेलाडीलाई चाहिने न्यूनतम आधारभूत आवश्यकताको अभावमा खेल छोड्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धतासमेत जनाए ।

उक्त सम्मान कार्यक्रममा सुजाताले उत्कृष्ट गोलकिपरघोषित हुँदा खुशी लागेको बताइन् । यसपटक उपाधि जित्न नसके पनि टिमले सक्दो प्रयास गरेको उनको भनाइ थियो । त्यस्तै सुशीलाले बलियो टोलीविरुद्ध नेपालले राम्रै प्रदर्शन गरेको बताइन् ।

पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो । राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो भने दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए । पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रहेको थियो ।