एसईई परीक्षामा चितवनबाट १० हजार ८५४ जना परीक्षार्थी सहभागी

March 31, 2023 3:30 pm

चितवन : यस वर्षको एसईई परीक्षामा चितवनबाट १० हजार ८५४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको चितवन शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । एसईई परीक्षाका लागि प्रश्नपत्रहरू चितवनका ४२ वटा केन्द्रसम्म पु¥याइसकिएका छन् ।

एसईईका लागि चितवनमा एक हजार ६३९ पर्यवेक्षक तथा कर्मचारीहरु खटाइएको समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए । चितवनमा एसईई दिने १० हजार ४७२ विद्यार्थीहरु मध्ये छात्रा पाँच हजार ३६४ र छात्र पाँच हजार ४९० रहेका छन् । त्यसैगरी प्राविधिक धारतर्फ २५१ र ग्रेड वृद्धिका १३३ जना विद्यार्थी रहेका छन् । चितवनमा सात वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने गरेको छ ।

चितवन शिक्षा विकास र समन्वय इकाइ प्रमुख सुवेदीले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका ४२ वटा केन्द्र मध्ये भरतपुर महानगरपालिकामा २२ वटा, रत्ननगर नगरपालिकामा सात वटा, खैरहनी नगरपालिकामा चार वटा, राप्तीमा दुई वटा, माडीमा दुई वटा, कालिका नगरपालिकामा दुई वटा र इच्छाकामना गाउँपालिकामा दुई वटा केन्द्रहरु रहेका छन् ।

चितवनबाट रत्ननगरको बछौली केन्द्रबाट तीन जना दृष्टिबिहीन विद्यार्थीहरुले एसईई परीक्षा दिने भएका छन् । समन्वय इकाइ प्रमुख सुवेदीले सम्पूर्ण एसईईका केन्द्राध्यक्षहरुलाई अनुशिक्षण गरेर आआफ्नो जिम्मेवारीमा खटाइएको बताए । सबै केन्द्रमा गरेर ६३० जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म एसईई चल्नेछ ।