घेराबन्दी तोडेर जनता माझ आएको छु, मेरो जित सुनिश्चित छ : रवि लामिछाने

March 30, 2023 10:13 pm

चितवन: सरकारमा सहभागिताबारे निश्चित भइनसकेको तर सत्ता गठबन्धनका १० दलमध्येको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूूर्वगृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले आफू घेराबन्दीलाई तोडेर पुनः जनतामाझ आएको बताएका छन् । भरतपुर महानगरको वडा नं. १ रामनगरमा निर्माण गरिएको राममन्दिरको उदेघाटन कार्यक्रममा बोल्दै लामिछानेले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा लामिछाने आफू पुनः चितवन–२ को उपनिर्वाचनबाट सर्वाधिक मतान्तरसहित विजयी हुने दाबी गरे ।

लामिछानेले भने– ‘रास्वपा सरकारमा गयो, सरकार छोड्यो, फेरि नयाँ गठबन्धनमा सम्मिलित भयो भनेर म र मेरो पार्टीसँग जनताको मनमा गुनासो, संशय र चिन्ता सबै छ, ती सबै प्रश्नको उत्तर दिन म एक÷एक जना मतदातालाई भेटेर गुनासो, चिन्ता र चासोको उत्तर दिनेछु ।’ उनले भने, ‘मैले इमान्दारिता र धर्म कदापि भुलेको छैन र भुल्ने पनि छैन, जनगुनासोको समुचित सम्बोधन गर्दै जनताको मनमा भएको संशयलाई चिर्दै वैशाख १० को उपनिर्वाचनमा अझै ठूलो स्वरमा घण्टी बज्नेछ ।’ उनले राजनीति गर्ने क्रममा समर्थन वा विराध गर्दा स्पष्ट कारण हुनुपर्छ र रास्वपाले त्यसको सधैँ ख्याल गर्ने बताए ।

राम मन्दिर निर्माणका क्रममा रामको मूर्ति राख्न ९० हजार रुपैयाँ सहयोग गरेका लामिछानेले भने – ‘मबाट कुनै अपराध भएको छैन, यदि कुनै अपराध भएको प्रमाणित भए म सार्वजनिक जीवन त्याग्न तयार छु ।’ नौ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त मन्दिरमा राम, सीता र लक्ष्मणको मूर्ति दुई लाख ३० हजार रुपैयाँ तथा हनुमान र गणेशको मूर्तिका लागि ७० हजार रुपैयाँ खर्च लागेको राम मन्दिर महिला समूहका अध्यक्ष सरसस्वती भट्टले जानकारी दिइन् ।

चितवन क्षेत्र नं. २ बाट मंसिर–४ को निर्वाचनमा सर्वाधिक मतान्तरसहित विजयी भएका लामिछाने नागरिकतासम्बन्धी विवादमा दोषी देखिएपछि अदालतको निर्णयबाट उनको सांसद पद गएको थियो । मंसिर १० गते चितवन–२ लगायत तनहुँ र बारामा गरी ३ निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुँदैछ ।