अर्थविद् डा.वाग्लेले छाडे नेपाली कांग्रेस

March 30, 2023 5:55 pm

काठमाडौं। अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन्। उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकारी गराएका हुन्।

आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन्।कांग्रेसप्रति अपार सद्भावका बाबजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख गरिएको छ। कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ।

‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ,’उनको पत्रमा भनिएको छ, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।’ डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन्।

यस्तो छ स्वर्णिमको पत्र:

प्रिय दाइ,
हजुरहरूको अपार सद्भावका बाबजुद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे। यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ।

काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।
स्वर्णिम