रत्ननगरका मेयर सापकोटाको पहलमा ब्लड बैंक स्थापना हुने

March 22, 2023 5:02 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा ब्लड बैंक स्थापना गरिने भएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाको पहलमा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा ब्लड बैंक स्थापना गरिने भएको हो । यसका लागि मेयर सापकोटाले पहल सुरु गरेका छन् । कार्यपालिकाको बैंठकले निर्णय गरेर जग्गा पहिचान गरी क्लव बैंकको भवन निर्माण प्रक्रिया सुरु गर्ने तयारी गरिएको मेयर सापकोटाले बताए । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरले मेयर प्रल्हाद सापकोटाले सुरु गरेको ब्लड बैंक स्थापनाको प्रयासलाई साथ दिने निर्णय समेत गरेको छ । तत्कालका लागि ब्लड बैंक स्थापनाको लागि उपशाखाले कोठा दिने निर्णय समेत गरेको छ । चैत्र १५ गते बस्ने कार्यपालिका बैठकमा ब्लड बैंक स्थापनाको लागि निर्णय गरेर प्रक्रिया सुरु गर्ने मेयर सापकोटाले बताए । ब्लड बैंक स्थापनाको लागि मेयर सापकोटाले रक्तसंचार सेवा भरतपुरका प्रमुख रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका मन्त्री राममणि खनाल लगायतसंग ब्लड बैंक स्थापनाको लागि छलफल समेत गरिसकेको मेयर सापकोटाले बताए । रत्ननगरमा पूर्वी चितवनकै सबैभन्दा ठुलो सरकारी अस्पताल रहेको छ । अस्पतालको सेवा प्रभावकारी हुँदै गएपछि विरामीका लागि रगत आवश्यक परे भरतपुर जानु पर्ने बाध्यकारी अबस्था रहेको छ । अब रत्ननगरमै एउटा ब्लड बैंक आवश्यक देखियो मेयर सापकोटाले भने चालु आर्थिक बर्षमै सञ्चालनमा ल्याउने गरी प्रक्रिया सुरु गर्दैछौं । रत्ननगर अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउन ब्लड बैंक स्थापनाले ठुलो सघाउ पुग्ने मेयर सापकोटाको भनाई छ ।