चितवन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले २०७२ सालमा निर्माण भएको संविधानमा गरेको दलितसम्बन्धी कानुनको व्यवस्थाले जातीय विभेद न्यूनीकरण हुँदै गएको बताएकी छिन् । ५८औँ अन्तराष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा संयुक्त दलित संगठन चितवनले आज मंगलबार भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले दशवर्षे जनयुद्ध र २०६२÷०६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानले छुवाछुतलाई केही हदसम्म न्यूनीकरण गएको उल्लेख गरिन् ।
नगरप्रमुख दाहालले अवस्थामा केही सुधार भएपनि छुवाछुत तथा जातीय उत्पीडन पूरै उन्मूलन नभएकाले थप अधिकारका लागि संघर्षरत रहनु पर्ने विचार व्यक्त गरिन् । उनले भनिन्, ‘विश्वव्यापीरुपमा पुरुषले महिलालाई, गोराले कालालाई, गैरदलितले दलतिलाई, एउटा धर्मले अर्को धर्मलाई भेदभाव गर्दै आएको इतिहास छ, यस प्रकारका जातीय भेदभाव र छुवाछुत दक्षिण एशियामा सबैभन्दा बढी नेपाल र भारतमा हुने गरेको तथ्य रहेको रहको छ ।’
संघीय गणतन्त्रको संविधानले स्थानीय तहमा वडागत रुपमा स्वतः वडा सदस्य हुने व्यवस्था गरेको भन्दै प्रमुख दाहालले दलितका छोराछोरीलाई समावेशी सिद्धान्तका आधारमा मन्त्रीहरु, प्रदेश प्रमुख हुन सफल हुनु भएको बताइन् । जनयुद्धको प्रथम शहीद दिलबहादुर रम्तेल दलितको छोरा भएको उल्लेख गर्दै उनदे भनिन्, ‘परिवर्तनको लडाइँमा दलित समुदायबाट धेरैले ज्यान गुमाउनु परेको थियो ।’
नेपालको संसदले २०७३ मा छुवाछुत विभेद उन्मूलन घोषणा गरेको छ । छुवाछुतजन्य गतिविधि गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाखसम्म जरिवाना हुने दण्ड सजायसमेत तोकिएको छ । नगरप्रमुख दाहालले छुवाछुत उन्मुलनका लागि वडागत रुपमा ‘कल्स्टर’ बनाएर समुदायस्तरमै भरतपुरमा पाँच ठाउँमा दलित र गैरदलितबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम अगाडि बढाइएको जानकारी दिइन् ।
कार्यक्रमको सम्बोधनकै क्रममा नगरप्रमुख दाहालले देशको ७ सय ५३ पालिकामध्ये भरतपुर महानगरपालिकाले दलितले गैरदलित विवाह गर्नेलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ दिदै आएको उल्लेख गरिन् । परम्परागतरुपमा रहेका पेशालाई संरक्षण गर्न पञ्चेबाजा, आरन व्यवसायलगायतका सीपलाई सुदृढीकरण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको प्रमुख दाहालको भनाइ थियो । नगरप्रमुख दाहालले भरतपुरलाई छुवाछुत उन्मूलनका लागि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर विमानस्थल तथा भरतपुर महानगरपालिका कार्यालयमा ‘छुवाछुत गर्नु अपराध हो’ भन्ने सन्देश लेखिएका होडिङ्ग बोर्ड टाँसिएको जानकारी दिइन् ।