प्रचण्डलाई विश्वासको मत दिन्छौं, गठबन्धन अघि बढाउनुको विकल्प छैन : देउवा

March 20, 2023 5:08 pm

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताएका छन्। सोमवार प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत मागेपछि देउवाले उक्त भनाई राखेका हुन्।

काँग्रेसले पुस २६ मा पनि संविधानको रक्षाको लागि विश्वासको मत दिएको उल्लेख गर्दै देउवाले यस पटक पनि विश्वासको मत दिने बताएका हुन्। ‘काँग्रेसले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुनेछ,’ देउवाले भने। उनले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।

सभापति देउवाले भने, ‘कुनै एक दलको मात्र प्रतिनिधिसभामा बहुमत ल्याउन सक्ने अवस्था प्राय: नहुने भएकाले गठबन्धनको संस्कृतिलाई आत्मसात् गर्नु परेको छ। त्यसलै हामीले उठाएको गठबन्धनको संस्कारलाई अघि बढाउनु परेको हो। राजनीतिक गठबन्धनहरू आत्मकेन्द्रित, स्वार्थप्रेरित, क्षणिक लाभका लागि हुनु हुँदैन। देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचैन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक छ।’