रत्ननगर १२ का महिलालाई आधुनिक पोते बनाउने तालिम

March 18, 2023 5:53 pm

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १२ का महिलाहरुलाई आधुनिक डिजाइनका गरगहना बनाउने तालिम दिइएको छ ।

रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा चेतनशिल आमा समुहले आयोजना गरेको तालिममा चुरा, पोते, बाला, औठी लगायतका गरगहना बनाउन सिकाइएको थियो । आर्थिक अबस्था कमजोर रहेका महिलाहरुको आयआर्जनको लागि तालिम आयोजना गरिएको चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्यालले जानकारी दिइन ।

तालिम शनिबार सकिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुवेदीले सीप सिकेका महिलाहरुले तत्कालै गहना बनाउन सुरु गर्नुपर्ने बताए । महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणको लागि वडा कार्यालयले आवश्यक पहलकदमी गर्ने उनको भनाई छ ।

तालिममा सहभागी महिलाहरुलाई वडाध्यक्ष सुवेदी र समुहकी अध्यक्ष अर्यालले प्रमाणपत्र वितरण गरेका थिए । शुशीला अधिकारी प्रशिक्षक रहेको सो तालिममा ३५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रकला पनेरु,निर्वतमान कार्यपालिका सदस्य निर्मला खड्का,पिस भिजन आमाविका प्राचार्य यमप्रसाद काफ्ले र सहभागीको तर्फबाट रिताकुमारी बास्तोला,शर्मिला धिताल लगायतले मन्तव्य राखेका थिए ।

सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।