रत्ननगरमा खुसी हुने कला सम्बन्धी प्रशिक्षण

March 16, 2023 8:15 pm

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ मा खुसी हुने कला सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा चेतनशिल आमा समुहले आयोजना गरेको कार्यक्रममा जीवन जिउने कला तथा जीवन र दर्शनका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको रत्ननगरका मेयर प्रल्हाद सापकोटाले उद्घाटन गरेका थिए । सो अबसरमा उनले जीवनलाई सहज बनाउन खुसी हुन सिक्नु पर्ने बताए । नगरबासीको अनुहारमा खुसी ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाउदै मेयर सापकोटाले नागरिकको विकासको सपना पुरा गर्न आफु प्रयत्नशिल रहेको उल्लेख गरे ।

मानब सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सहजीकरण गरेको सो कार्यक्रममा करिब २५० जनाको सहभागिता रहेको थियो । चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्यालले प्रतिकुल परिस्थितिमा पनि खुसीहुन सक्ने मान्छे जीवनमा कहिल्यै असफल नहुने बताइन् । जीवन भोगाईका क्रममा मानिसले झेल्नु परेको समस्या निराकरण गर्दै जीवन र दर्शनका बारेमा ज्ञान दिन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा रत्ननगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी,डिएसपी अनिल खड्का,वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम आमा समुहकी सचिव लक्ष्मी पाण्डेले सञ्चालन गरेको कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्य,आमा समुहका पदाधिकारी तथा सदस्य,टोल विकास संस्थाका पदाधिकारी तथा सदस्य,महिला समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।