नेपालको विष्फोटक ब्याटिङ, पपुवा न्युगिनी ९ विकेटले पराजित

March 13, 2023 12:59 pm

२९ फागुन, काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा आज सम्पन्न पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालले फराकिलो तथा महत्वपुर्ण जीत हासिल गरेको छ । यो जीत संगै अंक तालिकामा नेपालको ३८ अंक भएको छ । अब आगामी खेलमा युएईलाई हराएमा नेपालले सिधै विश्वकप छनौटमा स्थान सुरक्षित गर्ने छ । आजको खेलमा सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको थियो । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो ।

९६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले विष्फोटक व्याटीङ गर्दै मात्र ७.४ ओभरमा १ विकेटको क्षतिमा १०० रन बनायो । नेपालका लागी ओपनर आशिफ शेखले मात्र २१ बलमा अविजित ५३ रन बनाए । अर्का ओपनर कुशल भुर्तेल मात्र १४ बलको सामना गर्दै ३३ रन बनाएर आउट भए । फर्स्ट डाउनमा व्याटिङ गर्न आएका कुशल मल्लले १३ बलको सामना गर्दै अविजित १२ रन बनाए । नेपालले समग्रमा ६ छक्का तथा १३ चौका प्रहार गरेपछि मैदानमा खेल हेर्ने दर्शकहरु नृत्य गर्न थालेका थिए ।

५ विकेट लिएका सन्दिप लामिछाने प्लेयर अफ द म्याच चुनिए । नेपालले लिगको आफ्नो अन्तिम खेल आगामी बिहिबार युएई संग खेल्ने छ ।