एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न नेपाली क्रिकेट सफल

March 12, 2023 9:27 pm

यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै नेपालले थप चार वर्षका लागि एकदिवसीय मान्यता सुरक्षित राखेको हो ।

नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ । आजको जितसँगै नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ । नेपालले लिग–२ मा अब दुई खेल खेल्न बाँकी छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । युएईले समान खेलमा ३१ अङ्क बनाएको छ । युएई लि–२ को छैटौँ स्थानमा छ । उसले पनि अब दुई खेल्न बाँकी छ । यस्तै पपुवा न्युगिनी लिग–२ को पुछारमा छ । लिग–२ का यि तीन राष्ट्रसँगै स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका समेत रहेका छन् ।