रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ का महिलालाई आत्मनिर्भर बनाउन शनिबार देखि सीप मुलक तालिम सुरु गरिएको छ ।
रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा चेतनशिल आमा समुहले आर्थिक अबस्था कमजोर भएका महिलाहरुको आयआर्जनको लागि सात दिने सौन्दर्यकलाका सामाग्री बनाउने तालिम सुरु गरेको हो । तालिमको रत्ननगरका मेयर प्रल्हाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले नगरभित्रका महिलाहरुलाई अन्यायमा पर्न नदिने प्रतिबद्धता जनाए । महिला अधिकार स्थापित गराउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै मेयर सापकोटाले आर्थिक अबस्था कमजोर भएका महिलाहरुको सीप विकास मार्फत आयआर्जनको लागि लगानी गर्ने बताए ।
काम गरेर जीवन चलाउछौं भन्ने सोच भएका महिलाहरु समुहगत रुपमा योजना लिएर नगरपालिका आउनुस मेयर सापकोटाले भने यसमा मैले नाइनास्ती गर्नेछैन् । उनले सीप सिकेका महिलाहरुले मेयरसंग उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत वितरण गर्दै आएको विना व्याजको रकमबाट उद्यम गर्न आग्रह गरे । धनी बर्गका महिलाहरुले त्यसबाट पैसा पाउनु हुन्न उनले भने आर्थिक अबस्था कमजोर रहेका महिलाहरु उद्यमी बन्न चाहे सजिलै पैसा पाउनु हुन्छ ।
कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले महिलाहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरणको लागि नगरपालिकाले सहयोग गर्ने बताए । चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्यालले महिलाहरुको आयआर्जनको लागि आधुनिक डिजाइनको चुरा, पोते, टप तथा वाला बनाउने तालिम सुरु गरिएको बताइन । ३५ जना सहभागी तालिममा शुशीला अधिकारीले आधुनिक डिजाइनको चुरा, पोते, टप तथा वाला बनाउन सिकाउने अध्यक्ष अर्यालले जानकारी दिइन ।
उद्घाटन कार्यक्रममा नगरपालिकाका विज्ञ सल्लहाकार रामहरि न्यौपाने, वडा नं १२ का निर्वतमान वडाध्यक्ष बीरबहादुर पाख्रिन,रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वतमान अध्यक्ष भीष्मराज पौडेल, शान्तिकुञ्ज सामाजिक महिला उद्यामी सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल,अग्रज महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मीना बुढाथोकी, पञ्चदिप आधारभूत विद्यालयकी प्रधानाध्यापक शर्मिला भट्ट लगायतले मन्तव्य राखेका थिए ।
आमा समुहकी अध्यक्ष अनिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोमा पौडेलले स्वागत मन्तव्य तथा सचिव लक्ष्मी पाण्डेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।