जुत्ता चप्पल मेला : दोस्रो दिन ५ हजार बढिले गरे अवलोकन

March 2, 2023 9:50 pm

चितवन – चितवनमा जारी जुत्ता चप्पल मेलामा ग्राहको उल्लेख्य सहभागिता रहेको छ । भरतपुर १० स्थित प्रदर्शनी केन्द्रमा हिजोबाट शुरु भएको नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी मेलाको दोस्रो दिन अवलोकन गर्ने ग्राहकहरुको भिड लागेको हो।

आज दोस्रो दिन मात्रै ५ हजार भन्दा बढी ग्राहकले अवलोकन गरेको आयोजक मध्यका एक केटीएम शुजका प्रबन्धक प्रमोद महतोले बताए । प्रदर्शनीमा अवलोकन गर्न बैंकका कर्मचारी चितवन लगाएत छिमेकी जिल्ला नवलपरासी, तनहुँ, मकवानपुर गोर्खाबाट ग्राहक आएको उनले बताए ।

चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको प्रथम चितवन फुटवयर एक्स्पो “चितवन जुत्ता चप्पल मेला” मा १० वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन् ।

अगामी चैत १७ गतेसम्म (एक महिना) सञ्चालन हुने फुटवयर एक्स्पोमा ४० वटा स्टल रहेका छन् । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो ।

प्रदर्शनीमा २ लाखले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेको मेला व्यापार कमिटिका संयोजक सूरज वन्जाडेले बताए । उनले मेलामा विशेष आकर्षक छुटले ग्राहकहरुको भिड हुने दावी पनि गरे ।

मेलामा बि एफ डियरहिलरबिएफ़ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।