रत्ननगर ।
रत्ननगर ११ जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौजामा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । देवी अभियानले आयोजना गरेको सो कार्यक्रममा ३३ युनिट रगत संकलन भएको अभियानकी सञ्चालिका देवी अधिकारीले जानकारी दिइन । रत्ननगरका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा अभियानकी सञ्चालिका अधिकारीले चितवनमा देखिएको रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरेको बताइन । सामाजिक क्षेत्रमा क्रियाशिल देवी अभियानले रत्ननगरमा गरेको तेस्रो रक्तदान कार्यक्रम हो । उपमेयर पाठकले सकारात्मक कामको लागि हुने हरेक गतिविधिमा स्थानीय सरकारको हैसियतले नगरपालिकाले सहयोग गर्ने बताए । उद्घाटन कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष श्यामकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाका निर्वतमान सचिव रामचन्द्र पौडेल,धर्मधाम जिरौनाका अध्यक्ष दीपकचन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।