रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ सौराहाका सुत्केरी महिलालाई शुक्रवार पौष्टिक आहार वितरण गरिएको छ । वडा कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत २० जना सुत्केरी महिलालाई पौष्ट्रिक आहार तथा बच्चाको लागि न्यानो कपडा वितरण गरिएको हो । वडा कार्यालयले पौष्ट्रिक आहारका रुपमा प्रति सुत्केरी दुई किलो चना, दुई किलो मुनको दाल, एक किलो अनार, एक क्रेट अण्डा र शिशुको लागि न्यानो कपडा प्रदान गरेको वडा सचिव महेश सुवेदीले जानकारी दिए । वडाध्यक्ष किरण महतोले उनीहरुलाई पौष्ट्रिक आहार हस्तान्तरण गरेका थिए । सो अबसरमा उनले वडाबासीलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउन सुत्केरी महिलालाई पौष्ट्रिक आहार वितरण गरेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य वविता चौधरी, वडा सदस्यहरु गोपी विडारी, केशरीमाया सुनार, वीरेन्द्र महतो लगायतको सहभागिता रहेको थियो । चालु आर्थिक बर्षमा सुत्केरी भएका महिलाको प्रमाणखुल्ने कागजातका आधारमा पौष्टिक आहार वितरण गरिएको हो ।