रत्ननगर । रत्ननगर १० मा रहेको बैरिया माविका विद्यार्थीहरुको शुक्रवार आँखा परीक्षण गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल र लियो क्लव अफ रत्ननगर मिड नेपालले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा ५१३ जना विद्यार्थीको आँखाको उपचार गरिएको क्लवका सचिव शंकर पौडेलले जानकारी दिए । शिविरमा मोलियाविन्दु भएका एक जना र थप उपचारको आवश्यकता देखिएका ३ जनालाई भरतपुर आँखा अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए । शिविरमा २७ जनालाई चस्मा समेत प्रदान गरिएको छ । वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा क्लवका अध्यक्ष सुमन सुवेदीले क्लवले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुको आँखा परीक्षण शिविर आयोजना गरेको बताए । कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक एजुकेटिभ कोचिफहरु निरज श्रेष्ठ, दीपेन्द्र खतिवडा, कलष्टर चिफ ओमलाल सापकोटा, भरतपुर आँखा अस्पतालका नेत्र सहायक आयुष पौडेल,विद्यालयका प्रधानाध्यापक युवराज पौडेल,वडा सचिव सुरेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो । क्लवका अध्यक्ष सुमन सुवेदीको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । शुक्रवार विद्यार्थीको आँखा परीक्षण गरेको सो क्लवले शनिवार सोही विद्यालयमा सर्बसाधरणको निःशुल्क आँखा परीक्षण शिविर गर्ने सचिव शंकर पौडेलले जानकारी दिए । १० नं वडा कार्यालय र भरतपुर आँखा अस्पतालको सहयोगमा शिविर आयोजना गरिएको हो ।