विश्व कप क्रिकेट लिग–२: नेपालले स्कटल्यान्डलाई हराए संगै शृंखला क्लिन स्विप

February 21, 2023 7:29 pm

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डलाई हराएकाे छ । स्कटल्यान्डले दिएकाे २ सय १३ रनकाे लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर भेटायाे । सिरिजमा नेपालको चौथो खेलमा विजय हासिल गरे संगै नेपालले शृंखला क्लिन स्विप गरेको हो । जारी सिरिजमा चार वटै खेलमा विजय हासिल गर्ने नेपाल पहिलो राष्ट्र हो ।

नेपालका लागि कप्तान राेहित पाैडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित रहँदै १०१ बलमा ९५ रन बनाए । यस्तै करण केसीले अविजित ३१ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ३ र क्रिस ग्रेभ्सले २ विकेट लिए । सुरुवाती चरण देखि नै लगातार विकेट गुमाए पनि नेपालको पारी कप्तान पौडेलले सम्हालेका थिए । ओपनर कुशल भुर्तेलले मात्र १ रन बनाउन सफल रहदा ज्ञानेन्द्र मल्लले २१, आशिफ शेखले १२, कुशल मल्लले १७, सन्दिप जोराले १ , दिपेन्द्र सिंह ऎरीले ७, सोमपाल कामीले २ त्यस्तै सन्दीप लामिछानेले ९ रन बनाए । अतिरिक्त १७ रन हासिल गरेको नेपालले ३५ बल अगावै बिजय हासिल गरेको थियो ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेकाे स्कटल्यान्ड ४६ ओभर १ बलमा २ सय १२ रन बनाउँदा अलआउट भयाे । नेपालका लागी सन्दिप लामिछानेले ४, करण केसीले ३ तथा ललित राजबंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।

नेपालले घरेलु मैदानमा भएकाे शृङ्खलामा खेलेका ४ वटै खेल जितेकाे छ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो । त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई ३ विकेटले र पहिलो खेलमा २ विकेटले हराएको थियो । जित संगै नेपालले २८ खेल बाट २६ अंक हासिल गरेको छ, अब नेपालले ८ खेल खेल्न बाँकी छ ।