काठमाडौंमा प्रत्येक दुई वर्षमा घरभाडा १० प्रतिशतले बढ्ने

February 16, 2023 6:38 pm

काठमाडौँ : काठमाडौं महानगरपालिका भित्रका घरबेटीले अब घरभाडामा दिँदा र घर खाली भएको सूचना महानगरपालिकालाई सात दिनभित्र दिनुपर्ने भएको छ। महानगरले ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। बाँकी दुई प्रतिमध्ये एक/एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्नेछ । घर खाली भएको जानकारी नगराएको खण्डमा भाडामा लगाउने पक्षले सो अवधिभरको घरबहाल कर तिर्नुपर्ने हुन्छ ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था महानगरले ल्याएको हो । घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ ।

निर्देशिकाअनुसार महानगर भित्र बहालमा दिएका घरहरूले दुई वर्षमा १० प्रतिशतले बढ्ने उल्लेख गरिएको छ । महानगरले तयार पारेको सम्झौता पत्रको ढाँचाको बुँदा नम्बर ७ मा भनिएको छ, ‘घरबहाल रकम प्रत्येक २/२ वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने छ ।’

महानगरका राजस्व विभागका प्रमुख ध्रुव काफ्लेका अनुसार यो व्यवस्था कार्यान्वयन भएसँगै घरधनीहरूले मनलाग्दी भाडा उठाउन पाउँदैनन् भने तोकिएको भाडाको आधारमा महानगरमा घर बहाल कर तिर्नुपर्ने हुन्छ ।