प्रणय दिवस : आन्तरिक पर्यटकले भरिभराउ सौराहा

February 14, 2023 4:17 pm

सञ्जय चौधरी, रत्ननगर, फागुन २ । १४ फेब्रुअरी, प्रणय दिवस विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।

पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । सोमवारको सार्वजनिक बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।

रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेवान) सौराहाले यही अवसरमा फुड फेस्टिबलको समेत आयोजना गरेको छ । प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाउन आन्तरिक पर्यटकहरु सौराहा आएकाले पर्यटकले भरिभराउ भएको फेस्टिबलका संयोजक ध्रुब गिरी जानकारी दिए ।

प्रणय दिवस मनाउन परिवार तथा पे्रमिल जोडीको स्वागतका लागि व्यवसायीहरुले सौराहालाई सिँगारेका छन् । हात्तीचोकदेखि गैँडाचोकसम्मको क्षेत्रमा डालोमा बत्ती राखेर भिलिमिली बनाइएको छ । ‘प्रणय दिवस मनाउन अन्त जान नपर्ने गरी हामीले तयारी गरेका छौँ’, फेष्टिवलका संयोजक ध्रुव गिरीले भने, ‘सौराहामा प्रणय दिवसलाई रोमान्टिक बनाउँदैछौँ ।’

सडकमै खाऔँ : सडकमै रमाऔँ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरुले सडककिनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किनेछन् । सौराहाको मुख्य चोकमा हरेक साँझ विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिनेछ । झाँकीसँगै रमाएर सडककिनारमै आफूलाई मन पर्ने खानाका परिकार खान पाउने व्यवस्था गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राज भण्डारीले निकुञ्जका कारण सौराहाको पर्यटन चलेको भन्दै जैविक विविधता जोगाउनेतर्फ पनि व्यवसायी सचेत हुन आवश्यक रहेको बताए । ‘सौराहाको पर्यटन सफारीमा निर्भर छ’, उनले भने, ‘यो विश्वमै नौलो विषय हो ।’ उनले बैंकहरुको चर्को व्याजदरका कारण व्यवसायी मर्कामा परेको बताए । ‘देशको वित्तीय क्षेत्र नै अनियन्त्रित भयो’, उनले भने, ‘यसको मार हामी व्यवसायीले भोग्न बाध्य भएका छौँ ।’

फेष्टिवलमा हरेक दिन हुने सडक फुडसँगै विभिन्न जातजातिका झाँकीहरुको प्रस्तुति रहनेछ । तीन दिनसम्म सञ्चालन हुने फुड फेष्टिवलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला–संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुने फेष्टिवलका सह–संयोजक नवीन नेपालले जानकारी दिए ।

नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकार उपलब्ध हुने फुड फेष्टिवलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाखबराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

पर्यटकको सङ्ख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेष्टमा पर्यटक रमाउने गरेका छन् ।

सौराहामा पाँच हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता रहेको छ । यहाँ १२० होटल र करीब १०० वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो ।