लागतअनुसार दूधको मूल्य बढाउन माग गर्दै प्रजिअलाई ध्यानाकर्षण पत्र

February 10, 2023 8:57 pm

चितनवः चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीलेहरुले शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले प्रजिअ पौडेललाई जिल्ला प्रशासन कार्यालयमै गएर उक्त ध्यानाकर्ष पत्र बुझाएका हुन् ।

संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै संघले तत्काल लागतको आधारमा दूधको मूल्य बृद्धि गर्नुपर्ने माग राखेको छ । चितवनमा दैनिक तीन लाख पचास हजार लिटर दूध उत्पादन हुने र उत्पादनको ४५ प्रतिशत जिल्लामै खपत हुने तथा बाँकी ५५ प्रतिशत काठमार्डौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्कीलगायतका जिल्लामा निर्यात हुँदै आएको छ । पशु आहारमा भएको मूल्यबृद्धिले पशुपालक किसान पेसाबाटै पलायन हुने अवस्था आएको भन्दै तत्काल लागत अनुसारको मूल्य कायम गराउन प्रजिअलाई दिइएको ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

लागतअनुसार दूधको मूल्य बृद्धि नहुँदा व्यवसायमा लागेका किसानहरु वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था सिर्जना हुनसक्ने र यस्तो अवस्था आएमा अर्थतन्त्र थप नकरात्मकतातिर गई आयातीत दूधको उपभोग गर्न वाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै ज्ञापनपत्रमा सजग बनाइएको छ ।

संघले चितवन जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्ने ऐतिहासिक कार्य गरेको र पशुपालन तथा दुग्धजन्य व्यवसायबाट कसैले पनि पलायन हुन नपरोस् भनेर लागतअनुसार मूल्य बृद्धि हुनुपर्ने माग गरेको छ । साथै पशुआहारमा भएको अनियन्त्रित मूल्य वृद्धि नियन्त्रण गर्न पनि संघले अनुरोध गरेको छ ।

दैनिक उपभोग्य वस्तुमा १० देखि १५ प्रतिशत महँगी बढेको अवस्थामा पशुआहार तथा दानामा २० देखि ३० प्रतिशत महँगी बढेको हुनाले सोही अनुपातमा दूधको मूल्य बृद्धि गर्न माग गरिएको छ ।